मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा चिसोका कारण एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका वडा नं। ५ मझगावाँका ५८ वर्षीय बङ्गुर ९लम्बु० हरिजनको चिसो लागेर सोही वडास्थित दुईमोहान पुल नजिक मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।
मृतक हरिजन लुम्बिनीस्थित महिलवारबाट औषधि उपचार गराई घर फर्किने क्रममा अत्यधिक चिसो लागेपछि बाटोमै ढलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँ, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले जानकारी दिनुभएको छ ।
पुल नजिक सशस्त्र प्रहरी बलले अस्थायी रूपमा ड्युटी गर्ने स्थान नजिक साँझ करिब ४ः३० बजे उनी चिसोका कारण ढलेको अवस्थामा भेटिएका थिए । घर फर्किने क्रममा उक्त घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
उक्त समयमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका एक जवानका अनुसार, “उनी पुलबाट घरतर्फ जाने क्रममा असामान्य अवस्थामा आफैँ ढलेपछि नजिकै रहेका दुई जना स्थानीय र हामी दौडेर पुग्यौँ । चिसोको अत्यधिक असरले ढलेको शंका लागेपछि हातखुट्टामा घर्षण गर्यौँ । उहाँले एक–दुई पटक सास फेर्नुभयो तर त्यसपछि सास चल्न सकेन।”
मंगलबार दुईमोहानमा लागेको बजारमा परिवारका लागि तरकारी ल्याएर घर फर्किने क्रममा उक्त घटना भएको मृतकका परिवारका एक सदस्यले बताउनुभयो ।