जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) बीच एकीकरण गर्ने सहमती भएको छ ।
जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै पार्टी एकीकरण गरेको विज्ञप्ति जारी गरेका छन्।
‘दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी पार्टी एकीकरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई पार्टीबीच एकीकरणको निर्णयबारे बताउँदै लोसपा नेता जितेन्द्र सोनलले पार्टीको नाम के हुने, संगठनात्मक संरचना के हुने भन्नेमा थप छलफल हुने बताए । 'अहिलेको सहमतिबाट पार्टी एउटै हुने, चुनाव चिह्न एउटै हुने, सहमतिमा उम्मेदवार चयन हुने कुराको टुंगो लागेको छ,'उनले भने, 'पार्टीको नाम के हुने, संगठनात्मक संरचना के हुने भन्नेमा थप छलफल गरेर निर्णय गर्ने सहमति भएको छ ।'