भैरहवामा यु–१९ क्रिकेट टीमको बन्द प्रशिक्षणबाट खेलाडी छनोट

खबर नागरिक

भैरहवा। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा अन्डर १९ क्रिकेट टीमको छनोटका लागि बन्द प्रशिक्षण भइरहेको छ । एसियन क्रिकेट काउन्सिल (एससी) को आयोजनामा नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा हुन गइरहेको एसिया क्वालिफायरका लागि अन्डर १९ राष्ट्रिय टीम छनोट भइरहेको हो । 

देशभरका खेलाडीहरुबाट छनोट भएका ३० वटा खेलाडीलाई भैरहवामा १७ गतेदेखि बन्द प्रशिक्षण गरिएको हो । कोच मन्जित श्रेष्ठ, धिरेन्द्र चन्दको प्रशिक्षणमा ३० जनाको खेलाडीहरु बीच भएको प्रशिक्षणबाट उत्कृष्ट १८ जनाको टिम चयन भएको सेलेक्टर युनिल श्रेष्ठले भने । टिम चयन भएपछि क्यानले सार्वजनिक गर्नेछ ।  

सिद्धार्थ रंगशालामा ३० जना खेलाडीहरुको बीच आन्तरिक प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा र उत्कृष्टतालाई अवलोकन गरी कमि कमजोरीबारे प्रशिक्षण गरिएको प्रशिक्षक मन्जित श्रेष्ठले जानकारी दिए । उनले चार दिनसम्म प्रशिक्षण भएको र उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट भएको जनाए । उत्कृष्ट खेलाडी बिच पनि अभ्यासका लागि आन्तरिक प्रतिस्पर्धा गराइदै छ । भैरहवाको बन्द प्रशिक्षण बिहीबार सम्म हुने र  प्रशिक्षण शिविर सकिएपछि यु–१९ को राष्ट्रिय टीम घोषणा गरिनेछ रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ । 

प्रशिक्षणमा देशभरका विभिन्न जिल्लाका खेलाडीहरुलाई सहभागी भएका हुन । प्रशिक्षणका क्रममा १५–१५ जनाको २ वटा टिमबीच सुरुमा ५ वटा आन्तरिक प्रतिस्पर्धात्मक खेलहरु भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । संघले वार्षिक क्यालेन्डर अनुसार खेलहरु गर्दै आएको छ , तालिका अनुसार अबको केही दिनमा विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको हो । 


प्रतिक्रिया