सिद्धार्थनगरमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस; उत्कृष्ट संस्था सम्मानित

खबर नागरिक

भैरहवा, चैत २० । नेपालमा सहकारी स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने राष्ट्रिय सहकारी दिवस यस वर्ष पनि देशभरका साथै रुपन्देहीको सिद्धार्थनगरमा भव्य रूपमा मनाइएको छ। ' उद्यमशीलता र पारदर्शितास् सहकारीको प्राथमिकता ' भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका र सिद्धार्थनगर सहकारी सञ्जालको संयुक्त आयोजनामा ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ विभिन्न कार्यक्रम गरी मनाइएको हो।

दिवसको अवसरमा बिहान सिद्धार्थनगरको लुम्बिनी गेटबाट भव्य प्रभातफेरी निकालिएको थियो। सहकारीकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको उक्त र्‍याली बजारका विभिन्न भाग परिक्रमा गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारिक सभामा परिणत भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सहकारी संस्थाहरू मध्यमवर्गीय र गरिबीको रेखामुनि रहेका परिवारका लागि बलियो आर्थिक मेरुदण्ड भएको बताउनुभयो। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, सहकारी सञ्चालकहरूले इमानदारितापूर्वक संस्था सञ्चालन गर्नुपर्छ। कसैको पनि पसिनाको कमाइ हिनामिना हुनुहुँदैन, बचतकर्ताको रकमको सुरक्षामा सञ्चालकहरू सचेत हुनुपर्छ।

नगर उपप्रमुख उमा अधिकारीले सहकारीमा पारदर्शिताको अभाव नै समस्याको जड भएको बताउनुभयो। उहाँले समस्यालाई लुकाउनुभन्दा स्पष्ट रूपमा राख्दा मात्र समाधानको बाटो निस्कने उल्लेख गर्दै हरेक कारोबार र निर्णय पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले सहकारीमार्फत प्रवाह हुने तालिम र लगानीलाई थप प्रभावकारी बनाउन नगरपालिका र सहकारी सञ्जालबीच निरन्तर सहकार्य आवश्यक रहेको औँल्याउनुभयो।

कार्यक्रमको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उत्कृष्ट कार्यहरू सम्पादन गर्ने विभिन्न सहकारी संस्थाहरूलाई सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो।

सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई चिर्दै सुदृढीकरण, पारदर्शिता प्रवर्द्धन र उद्यमशीलता विकासमा यो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा नगरका विभिन्न सहकारीका प्रतिनिधि, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया