सिरहा कारागारकाे तनाव साम्य हुन सकेन

खबर नागरिक

सिरहा कारागारमा उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन । जिल्ला सुरक्षा समितिले सोमबार अनुगमनका क्रममा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएपछि सुरु भएको तनाव अझै नियन्त्रणमा आउन नसकेको हो ।

अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रुपैयाँ, चुरोट, सुर्तीलगायत सामग्री भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा अनुसन्धान भइरहेको छ ।तर, त्यससँगै नाइके यादवनिकट कैदीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन थालेका थिए । सुरक्षाकर्मीले कारागार बाहिरबाट पानीको फोहोरा हालेर आगो नियन्त्रणमा लिए पनि उनीहरू अझै कारागारभित्र प्रदर्शन जारी राखेका छन् ।

कारागारभित्रबाट पानी, ढुंगा फाल्ने, थाल बजाउनेलगायतका काम उनीहरूले गरिरहेको सिरहाका प्रहरी प्रवक्ता रमेशबहादुर पालले बताए । कारागारको सुरक्षामा अहिले नेपाल प्रहरीसहित सशस्त्र प्रहरी तथा नेपाली सेना पनि खटिएको र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले जनाए ।

कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागूऔषधसम्मको कारोबार हुँदै आएको, फोन र चन्दाका नाममा असुली हुँदै आएकोलगायतका अवैध गतिविधि हुने गरेकाे पुष्टी भएकाे  थियाे ।

प्रतिक्रिया