भन्सार एजेन्टका कर्मचारी आन्दोलित हुदा उठेन राजश्व, दैनिक ३३ करोड लक्ष्य

खबर नागरिक

भैरहवा । भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्टका कर्मचारीहरुले काम नगर्दा राजश्व असुली नै प्रभावित बनेको छ । दैनिक ५–६ सय मालवाहक ट्रक भन्सार जाँचपास हुने गरेकोमा सोमबार ४ बजेसम्म एउटा पनि ट्रक भन्सार नभएपछि राजश्वमा असर परेको हो । 

शनिबार देखि भन्सार ऐन २०८२ लागु भएको छ । ऐनको दफा ७१ को (झ) मा घोसणाकर्ताले दफा २० को उपदफा ३ बमोजिम विधुतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोसणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रुपमा संलग्न गरेमा त्यस्तो घोसणाकर्तालाई सो घोसणा कमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तुको जाँचपास गर्ने उल्लेख भएपछि कर्मचारीहरु आन्दोलित  भएका हुन । 

कम्प्युटरमा डाटा इन्ट्री गर्दा हुने सामान्य गल्तीलाई पनि जरीवाना तोकेको लगायत अन्य केही विषय पनि जोडेर देशैभरीका भन्सार एजेन्टका कर्मचारीहरुले विरोध गर्दै काम ठप्प पारेका छन । सोमबार विहानैदेखी भैरहवा भन्सार कार्यालय अन्तर्गत रहेका भन्सार एजेन्टहरुले काम ठपप गरी कुनै पनि प्रज्ञापन कार्यालयमा नपठाई आन्दोलन गरिरहेका छन् । कम्प्युटरमा डाटा इन्ट्री गर्दा हुने सामान्य गल्तीमा पनि ठूलो जरीवाना तोकेकोले यस्को प्रत्यक्ष मार एजेन्टमा नपरि कर्मचारीमा पर्नेहुदा आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारीहरुले बताएका छन । 

भैरहवा भन्सार कार्यालयहुदै दैनिक ६ सय हाराहारीमा प्रशज्ञापनबाट जाँचपास हुने गरेकोमा सोमबार साझ ४ बजे सम्म सय जनाको मात्रै प्रज्ञापन आएपनि अन्य कागजात नआउदा कुनै पनि कारोबार नभएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए । 

भन्सारको दैनिक लक्ष्य करिब ३३ करोड छ, आइतबार २७ करोड राजश्व संकलन भएपनि आज ४ बजे सम्म कुनै पनि भन्सार जाँच पास नभएकोले राजश्व उठ्न सकेन । हाम्रो वार्षिक लक्ष्य सोचे अनुसारको नउठेपनि यो महिनाको लक्ष्य करिब सरदरमा लक्ष्य अनुरुप रहेको छ । यो महिनाको लक्ष्य ८ अर्ब ५९ करोड रहेकोमा आइतबार सम्म ५ अर्ब १ करोड राजश्व संकलन भएको छ । 

सोमबार विहानैदेखि भन्सार जाँचपासका लागि एजेन्टहरुले माग नगर्दा यस्को असर राजश्व संक्लनमा परेको छ । घोसणागर्दा गल्ती भएमा ऐनकै दफा २० मा जाँचपास गर्नु भन्दा अगावै सच्याउनु पर्ने व्यवस्था रहेपनि कर्मचारीहरुले सामान्य त्रुटीलाई जरिवाना नगर्न माग गरेको भन्सार प्रमुख पौडेलले भने । 

भैरहवा भन्सार कार्यालयको यात्रु शाखाबाट भन्सार जाँच पास भएतापनि भित्रबाट जाँचपास भएको छैन । राजश्वमा योगदान गर्ने मुख्य बस्तुहरुको प्रज्ञापन भरेपनि जाँचपास भएको छैन । 

शनिाबरदेखि लागु भएको ऐन अनुसार विरगंजमा आइतबार एक जनालाई यस दफा अनुसार जरिवाना भएपछि विरोध सुरु भएको हो । विरंगजमा यो प्रकृतिको घटना भएपछि यहाँ पनि हुन सक्ने हुदा सुधारका लागि अनुरोधार्थ काम नगरेको एजेन्ट कर्मचारीहरुको भनाई छ । भैरहवा भन्सारमा भने आइतबार दफा ३३ को २ बमोजिमको एक जनालाई जरिवाना भएको थियो । 

कर्मचारीहरुले काम गर्दा कहिलेकाही मानवीय त्रुटीले ठूलो जरिवाना हुदा आयातकर्ता वा एजेन्टले नब्योहोर्ने हुदा हामी कर्मचारीमाथि ठूलो आर्थिक असर पर्ने भएकोले यो व्यवस्थामा विचार गर्नुपर्ने बताए । आगामी दिनमा पनि समस्या पर्ने हुँदा यो निणर्य नै खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

विगत १५ वर्षदेखि एजेन्टको कर्मचारीको रुपमा काम गर्दै आएका राजु बस्नेतले पहिला सहज रुपमा भन्सार भएतापनि अहिलेको ऐनले ल्याएको जरिवानाका कारण व्यापारी मर्नेे बताए । सरकारले पहिला मजदुरलाई पलायन गरे,त्यसपछि विद्यार्थी पलायन भए अब उद्योगी व्यवसायीलाई पलायन गर्ने मनसाय राखेको उनले भने । 

जरिवाना गर्दा व्यवसायीले नतिरी १५ हजारको तलब खाने कर्मचारीको गल्ती भन्दै जरिवानाको भार वोकाउने भएकोले यहाँ आज कसैले काम नगरेको बस्नेतको भनाई छ । आज बैठक बस्ने कुरा छ, निर्णय के हुन्छ सम्बोधन नभएसम्म हामी काममा नफर्किने बताए ।

प्रतिक्रिया