रुपन्देही–३ मा एमालेको निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना

खबर नागरिक

भैरहवा, माघ १८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरेले यस क्षेत्रका मतदाताले एमालेलाई विश्वास गर्ने संकेत स्पष्ट देखिइसकेको दाबी गरेका छन् । उनले आफूहरू निर्वाचन जित्नेमा ढुक्क रहेको बताए।

उम्मेदवार घिमिरेले मुलुक र नेपाली जनताले चाहेको मुख्य अपेक्षा सुशासन, भ्रष्टाचारको पूर्ण नियन्त्रण र जनताले तिरेको करबाट उठेको राजस्वको सही सदुपयोग रहेको उल्लेख गरे । यस्ता विषयलाई केन्द्रमा राख्दै जनताका सबै चाहना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

विगतमा तिलोत्तमा नगरपालिकामा स्थानीय तहको नेतृत्व गरेको अनुभव, संघीय सांसदको रूपमा तीन वर्ष निर्वाह गरेको भूमिकाले आफूलाई सक्षम बनाएको उनको भनाइ छ। विभिन्न संघसंस्था, संगठन, राजनीतिज्ञ, किसान तथा निजी क्षेत्रका समस्या र पीडा नजिकबाट बुझेकोले ती अनुभवलाई आत्मसात गर्दै क्षेत्रका समस्या समाधान गर्न सक्ने क्षमता रहेको उनले बताए।

घिमिरेले तिलोत्तमा नगरपालिकामा एक कार्यकाल स्थानीय सरकार सञ्चालन गरी परिवर्तन ल्याई देशकै उत्कृष्ट नगरपालिकाको रूपमा चिनाउन सफल भएको र संघीय सांसदको हैसियतमा नीतिगत, विकास र जनताको आवाज मुखरित गर्ने काम गरेको स्मरण गराए। अब सोही अनुभवलाई उपयोग गर्दै क्षेत्र नम्बर ३ को समग्र परिवर्तनका लागि लाग्ने प्रतिबद्धता जनाए।

उनले अपुरा काम पूरा गर्ने, बाँकी विकासका कार्यको नेतृत्व गर्ने र आम नागरिकका समस्या समाधानमा केन्द्रित रहने उनले बताए । घिमिरेले कृषि, पर्यटन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पाँच वर्षभित्र गर्न सकिने योजनामात्र घोषणापत्रमा समावेश गरिने बताए। यस क्षेत्रसँग जोडिएका महत्वपूर्ण योजनामा ठूलो रकम खर्च भए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै ती योजनालाई पहिलो प्राथमिकतामा राखी छोटो समयमा सुचारु गर्ने जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्र नम्बर ३ की इन्चार्ज गुमा देवी आचार्यले एमालेले गरेको विकास कार्य सबैले नजिकबाट देखेको बताइन्। देशलाई समग्र रूपमा मिलाएर अगाडि बढाउन सक्ने पार्टी एमाले भएको दाबी गर्दै बहुमतको सरकार बन्ने सम्भावनालाई खण्डन गर्नेहरूलाई व्यवहारबाटै जवाफ दिइने बताइन्। उनले एमाले हरेक हिसाबले अझ सशक्त र मजबुत बनेको दाबी गरिन्।


प्रतिक्रिया