रूपन्देही–३ मा एमाले उम्मेदवार बासुदेव घिमिरेको चुनावी शैली: भाषणभन्दा 'परफरमेन्स' र भावनात्मक पक्षमा जोड

खबर नागरिक

भैरहवा, फागुन । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्यको उप-निर्वाचन नजिकिँदै गर्दा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। उम्मेदवारहरू मतदाताको मन जित्न नयाँ-नयाँ रणनीति र अपीलसहित घरदैलोमा व्यस्त देखिएका छन्। यसै क्रममा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रचार शैलीलाई 'विकास र भावनात्मक सम्बन्ध' को समिश्रण बनाउनुभएको छ।

घिमिरेले मतदातालाई लक्षित गर्दै आफूलाई भाषण गर्ने नेताभन्दा पनि काम गर्ने सेवकका रूपमा प्रस्तुत गर्नुभएको छ। तिलोत्तमा नगरपालिकाको पूर्व प्रमुख र संघीय सांसदको रूपमा सम्हालेको जिम्मेवारीको अनुभवलाई उल्लेख गर्दै उहाँले रूपन्देही–३ को समृद्धिमा नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

"म भाषणमा भन्दा परिणाममुखी काममा विश्वास गर्छु," उनले भने, "विगतको कार्यसम्पादन र क्षेत्रको समग्र विकासका लागि मेरो उम्मेदवारी हो।"

यसपटक घिमिरेको चुनावी शैली चर्चाको विषय बनेको छ। परम्परागत राजनीतिक भाषणबाजीलाई छोडेर उहाँ स्थानीय बासिन्दासँग आत्मीयता साटासाट गर्न टोल-टोलमा पुगिरहनुभएको छ। घरदैलोका क्रममा घिमिरे स्थानीय मतदातासँगै नाँच्दै र गाउँदै मत मागिरहेका भेटिन्छन्। स्थानीय संस्कृति र गीत-संगीतलाई जोडेर गरिएको यो प्रचार शैलीले मतदातामा उत्साह थपेको छ।

नेकपा (एमाले) ले यसपटकको प्रचारलाई तडकभडक भन्दा पनि शालिन र भद्र बनाउने रणनीति लिएको देखिन्छ। पार्टीले ठूला सभा भन्दा पनि मतदातासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको छ।

आफ्नो 'कोर' मत जोगाउन र नयाँ मतदाता थप्न स्थानीय कमिटीका कार्यकर्ताहरूलाई प्रत्येक वडा र टोलमा खटाइएको छ। "स्थानीय कार्यकर्ताहरू नै अग्रपंक्तिमा रहेर मतदातासँग संवाद गरिरहनुभएको छ, जसले चुनावी माहौललाई थप बलियो बनाएको नेताहरूकाे भनाइ छ 

फागुन २१ को निर्वाचनका लागि रूपन्देही-३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका घिमिरेसँगै अन्य दलका उम्मेदवारहरू पनि आ-आफ्ना एजेन्डासहित मैदानमा उत्रिएपछि यो क्षेत्रको चुनावी परिणामलाई निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया