प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता : मोनस्टर गाइज बिजयी

खबर नागरिक

भैरहवा । सिद्धार्थनगर–१ पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’ अन्तर्गत सोमवार भएको खेलमा मोनस्टर गाइज सुनवपल नवलपरासी बिजयी भएको छ । लिस्नु युवा क्लव कोटिहवा तिलोत्तमा रुपन्देही लाई ०–२ गोलको अन्तरले मोनस्टर गाइज बिजयी भएको हो ।

पक्लिहवा माविको खेल मदानमा भएको उक्त खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । लिस्नु क्लव पराजित भएपनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । मोनस्टर गाइजको तर्फबाट अन्तराष्ट्रिय खेलाडी बिमल घर्ती मगर समेत सहभागी थिए ।

खेल सुरु भएको १८ ओं मिनेटमा मोनस्टर गाइजका तनिश गुरुङले पहिलो गोल गरेका थिए । मोनस्टर गाइजका निखिल पुनले मध्यान्तर पछिको १७ औं मिनेटमा एक गोल गरि आफ्नो टिमलाई २ गोलमा परिणत गराएका थिए ।

लिस्नुका खेलाडीले पटक पटक गोलको प्रयाश गरे पनि गोलमा परिणत हुन सकेन । गोलाका लागि प्रहार गरिएका तीनवटा उत्कृष्ट प्रहार गोलपोष्ट माथिबाट गएको थियो । सोमवारको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मोनस्टर गाइजका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भइ पुरष्कृत भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे ।

मंगलवार फर्साटिकर युवा क्लव फर्साटिक शुद्धोधन रुपन्देही र भैरहवा युवा क्लव रामग्राम नवलपरासी बिच प्रतिष्पर्धा हुने जानकारी आयोजक भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगरका किसन थापाले दिए ।

पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ सञ्चालन गरिएको यस प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहित रुपन्देही र नवलपरासी गरि आठ वटा फुटवल टिमको सहभागिता छ ।

प्रतिक्रिया