रुपन्देहीमा रास्वपाको चुनावी सन्देश: “यसपटक देशलाई जिताउनुपर्छ”

खबर नागरिक

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नं. ३ मा मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनलाई देशको दिशा बदल्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्। जनसम्पर्क कार्यक्रममा उनले मतदाताले आफ्नो रोजाइ मनमै तय गरिसकेको उल्लेख गर्दै अब त्यसलाई मतदानमार्फत अभिव्यक्त गर्ने समय आएको बताए।

लामिछानेले क्षेत्रीय उम्मेदवार डा. लेखजंग थापालाई सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै देश निर्माणका लागि नयाँ सोच र प्रतिबद्ध व्यक्ति आवश्यक रहेको धारणा राखे। उनका अनुसार यस्ता उम्मेदवारले राजनीतिक अभ्यासलाई परिणाममुखी बनाउने विश्वास दिलाउँछन्। समानुपातिकतर्फका उम्मेदवार ज्ञान पौडेललाई पनि उनले निडर र योग्य प्रतिनिधिका रूपमा चित्रित गर्दै संसदमा पु¥याउन मतदातासँग अपिल गरे।

उनले विगतका चुनावहरूले अपेक्षित परिवर्तन दिन नसकेको स्मरण गराउँदै यसपटक सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा पार्टीलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले मतदाताको भरोसाले मात्रै राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गरे। उनका अनुसार देशलाई अघि बढाउने जिम्मेवारी अब नागरिककै हातमा छ।

प्रतिक्रिया