रुपन्देही, माघ १६ । आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू चुनावी तयारीमा जुटिरहेका छन्। यही क्रममा राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार आफ्नो नौ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंग्लापुरमा आयोजित कार्यक्रममा पार्टीले “सबैको साथ, सबैको विकास” भन्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय महासचिव तोप अस्लामीले वर्तमान संविधानमा गम्भीर कमजोरीहरू रहेको दाबी गरे। उनले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको संरक्षणका लागि २०७२ सालको संविधान संशोधन आवश्यक रहेको बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार केशव थापा सूर्यवंशीले समाजबाट सुरु भएर देश निर्माणसम्मको अभियानमा राष्ट्रिय जनमुक्ति पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। उनले विकास र परिवर्तनका लागि पार्टीलाई साथ दिन आम मतदातासँग आग्रहसमेत गरे।
आगामी निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीले देशभरबाट प्रत्यक्षतर्फ १७ जना र समानुपातिकतर्फ १२ जना गरी कुल २९ जना उम्मेदवार मैदानमा उतारेको छ। संविधान संशोधन र भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानलाई प्रमुख एजेन्डा बनाएर पार्टी चुनावी अभियानमा होमिएको जनाएको छ।
केन्द्रीय अध्यक्ष केशव थापा सूर्यवंशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पार्टी सचिव मोजिव अलीले गरेका थिए।