महामन्त्री विश्वप्रकाश शर्माको भनाइ: विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य रूपमा गर्नैपर्छ

खबर नागरिक

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव ९० दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने स्पष्ट बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले हाल काँग्रेसभित्र विशेष र नियमित महाधिवेशनबारे देखिएको विवादमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीको विधानमा उल्लेखित प्रावधानहरू सम्झाएका हुन्।

उनका अनुसार नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा लचिलो व्यवस्था भए पनि विशेष महाधिवेशन भने बाध्यात्मक रूपमा तीन महिनाभित्र गर्नुपर्ने प्रष्ट निर्देशन विधानमा छ। शर्माले लेखेका छन्, “नियमित महाधिवेशन पुस, माघ, बैशाखमा वा त्योभन्दा अघि–पछि पनि गर्न सकिन्छ, तर विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्छ भन्ने दफा १७(२) ले स्पष्ट रूपमा भन्छ। यो कुनै विकल्प नभई बाध्यात्मक व्यवस्था हो।”

कांग्रेसको विधानको दफा १७(२) अनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका कम्तीमा ४० प्रतिशत सदस्यले लिखित रूपमा विशेष महाधिवेशनको माग गरेमा निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने प्रावधान रहेको छ।

शर्माले अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गरिसकेकाले त्यसको आयोजनाबारे निर्णय लिनु नै मुख्य विषय भएको बताए। उनका अनुसार, “यो मागलाई सम्बोधन गर्ने एक मात्र उपाय भनेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्ने वा त्यसै अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने हो। यसमा कुनै ‘इफ, बट, इन्तु, परन्तु’ को ठाउँ छैन।”

प्रतिक्रिया