चुनावी मैदानमा सुरक्षामा खटिएका पूर्व आईजीपीसम्मकाे उम्मेदवारी

खबर नागरिक

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व सुरक्षाकर्मीहरू मैदानमा उत्रिएका छन् । नेपाल प्रहरीबाट अवकाश पाएका प्रहरी नायव निरीक्षक सई देखि पूर्व आईजीपीसम्म मैदानमा छन् । 

प्रहरीका पूर्व आईजीपीद्वय सर्वेन्द्र खनाल र ध्रुवबहादुर प्रधान चुनावको मैदानमा छन् । देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गर्दा पूर्व सुरक्षाकर्मीहरू आधा दर्जन मैदानमा देखिएका हुन् ।

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएर फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन रोजेका छन् । पाण्डेले काठमाडौँ क्षेत्र नम्बर–३ बाट मनोनयन दर्ता गरेका छन् । 

काठमाडौँ–३ मा पाण्डेले नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल, नेकपा एमाले का रामेश्वर फुयाँल, नेपाली कम्युनिस्ट पार्टीका नीरज लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का डा. सुन्दरसिंह बोहोरासँग प्रतिस्पर्धा गर्दैछन् । प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ बाट चुनाव लड्दैछन् । २०७९ मा भएको निर्वाचनमा प्रधान सो क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेर कानुन मन्त्रीसमेत भइसकेका प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उपाध्यक्ष हुन् । 

अर्का पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लडेका छन् । खनाल समुन्नत नेपाल पार्टीका सभापति हुन् । समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर चुनावमा होमिएको छ । सो दलले बाँसुरी चुनाव चिन्ह आफ्नो निर्वाचन चिन्ह राखेको छ । 

प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् । आईजीपी हुने प्रतिस्पर्धामा धिरज प्रताप सिंहसँग पछि परेका पोखरेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा आबद्ध भएका थिए ।  

पूर्व एसएसपी विक्रमसिंह थापा कपिलवस्तु–२ बाट प्रतिस्पर्धामा छन् । कांग्रेसबाट सिफारिस भएका थापा रास्वपामा प्रवेश गरेर निर्वाचनको मैदानमा होमिएका हुन् । उनले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् । 

चुनावी प्रतिस्पर्धामा प्रहरी नायव निरीक्षकसई बाट सेवा निवृत्त भएका शम्भुप्रसाद ढकाल पनि छन् । शम्भु सुस्केरा भनेर चिनिने ढकाल झापा–४ बाट चुनावमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार ढकाल रास्वपा झापाका जिल्ला सचिव पनि हुन् । 

पूर्व डीएसपी गोविन्द पन्थी गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट गोविन्द पन्थीले मनोनयन दर्ता गराएका हुन् । 

यसैगरी नेपाली कांग्रेसबाट कैलाली–२ मा उम्मेदवार रहेका विजय बहादुर स्वार २०५६ सालमा प्रहरीको असईबाट सेवानिवृत्त भएका हुन् । स्वाँर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्षसमेत रहेका छन् ।

प्रतिक्रिया