रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको आरोपमा रुपन्देही क्षेत्र नम्बर ३ का नेता जितबहादुर गुप्ताको साधारण सदस्यता खारेज गर्न सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले फागुन १४ गते नै निर्णय गर्दै गुप्ताको साधारण सदस्यता खारेजीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको हो।
अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी पत्रअनुसार गुप्ता २०७९ सालको संघीय निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए। निर्वाचनमा पराजित भएपछि उनले पटक–पटक सामाजिक सञ्जालमार्फत पार्टीको विधान, कार्यविधि र आचारसंहिताविपरीत गतिविधि गरेको आरोप लगाइएको छ।
यसै कारण उनलाई यसअघि पार्टीले निलम्बनसमेत गरेको थियो। पछि उनले पार्टीको विधान, उद्देश्य तथा आचारसंहितालाई पालना गर्दै संगठनका गतिविधिमा सहभागी हुने प्रतिबद्धता जनाएपछि निलम्बन फुकुवा गरिएको आयोगले जनाएको छ।
तर निलम्बन फुकुवा भएपछि पनि उनले पार्टी निर्णयविपरीत २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेर उम्मेदवारी दिएको आयोगले उल्लेख गरेको छ।
पार्टीको निर्णय र अनुशासन उल्लंघन भएको ठहर गर्दै गुप्ताको साधारण सदस्यता समेत खारेजी गर्न केन्द्रीय समितिमा सिफारिस गरिएको अनुशासन आयोगले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगको कार्यालय काठमाडौंको वनस्थली, चमतीस्थित केन्द्रीय कार्यालयबाट उक्त निर्णय सार्वजनिक गरिएको हो।