सार्वजनिक बहस प्रस्तावले राजनीति तातेको, बालेनले ओलीसँग मञ्च साझा गर्न अस्वीकार

खबर नागरिक

काठमाडौ, माघ ११ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ भने प्रमुख दलका शीर्ष नेताबीच सार्वजनिक बहसको प्रस्तावले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई राष्ट्र निर्माण र राष्ट्र विनाश गर्ने शक्तिबीचको प्रतिस्पर्धा भनेर व्याख्या गर्दै खुला बहसका लागि आफू तयार रहेको बताएपछि यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले बौद्धिक वर्गबाट पारदर्शी र प्रत्यक्ष बहसको माग बढिरहेको उल्लेख गरेका थिए। उनले प्रधानमन्त्री पदका आकांक्षी सबै दल र नेताहरू एउटै मञ्चमा उभिएर आफ्ना एजेन्डा, विगतका काम र भावी योजनाबारे जनतासामु खुला छलफल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। सामाजिक सञ्जालमा बनावटी प्रचार सामग्रीमार्फत सत्य लुकाउने प्रयास भइरहेकाले यस्ता भ्रम चिर्न सार्वजनिक बहस अपरिहार्य भएको ओलीको भनाइ थियो।

ओलीको उक्त प्रस्तावपछि काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले भने आफू सार्वजनिक बहसमा नजाने स्पष्ट संकेत दिएका छन्। ओलीको सामाजिक सञ्जाल पोस्टमा टिप्पणी गर्दै बालेनले एउटै मञ्च साझा गर्न अस्वीकार गरेका हुन्।

बालेन साहले विगतका केही घटनाको स्मरण गर्दै ती घटनासँग जोडिएका व्यक्ति र समूहसँग एउटै मञ्चमा देखिनुले आफू पनि त्यसमा सहभागी भएको अर्थ लाग्ने तर्क गरेका छन्। यस्ता व्यक्तिसँग सार्वजनिक बहस सम्भव नभएको भन्दै उनले ओलीको प्रस्तावप्रति असहमति व्यक्त गरेका छन्।

प्रतिक्रिया