भैरहवा—सिद्धार्थनगर नगरपालिकाको वडा नं. ४ द्वारा आयोजित चौथो वडाध्यक्ष टेनिस बल क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सोमबार सम्पन्न भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा रातो जर्सीको प्रतिनिधित्व गर्ने भवानी पथ स्टाक टोलले सेतो जर्सीको दोगहरा वारियर्सलाई पराजित गर्दै उपाधि हात पारेको छ।
टस जितेर दोगहरा वारियर्सले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो। निर्धारित १२ ओभरको खेलमा भवानी पथ स्टाक टोलले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो।
जवाफमा उत्रिएको दोगहरा वारियर्सले सुरुआत राम्रो गरे पनि मध्य ओभरमा लगातार विकेट गुमाउँदै ८७ रनमै सीमितभयो र १ विकेटले पराजित हुन पुग्यो।
भवानी पथ स्टाक टोलका देव नारायण थारुले प्रभावकारी बलिङ गर्दै ३ विकेट लिए र उनलाई म्यान अफ द म्याच घोषित गरियो।
उता, दोगहरा वारियर्सका गणेश धोबीले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिई बेस्ट बलर तथा प्लेयर अफ द सिरिज बन्न सफल भए।
विजयी टोलीका कप्तानले समर्थकप्रति आभार व्यक्त गर्दै टोलीको मेहनत, आत्मविश्वास र एकताले उपाधि जित्न सम्भव भएको बताए।
फाइनल खेलका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खान रहेका थिए। उनले “यस्ता प्रतियोगिताले युवाहरूको क्षमता उजागर गर्नुका साथै खेलकुदमा अनुशासन, एकता र सकारात्मक ऊर्जा विकास गर्न ठूलो भूमिका खेल्ने बताए।
यसैगरी वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव भोलाले हरेक वर्ष यस्ता खेलहरू आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गरे।
“मैले वडाध्यक्ष भएर जिम्मेवारी सम्हालेको दिनदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छु। जबसम्म म वडा प्रमुखको भूमिकामा छु, खेलप्रेमी युवाहरूका लागि यस्ता प्रतियोगीता गराइरहने प्रतिबद्धता व्यक्त गर्दछु।"
आयोजक समिति सि.न.न.पा. वडा नं. ४ ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएको छ।