काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा सरकारले कुल बजेटको करिब एक तिहाइभन्दा बढी खर्च गरेको छ। अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको विनियोजनमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख रुपैयाँ खर्च भई ३५.१४ प्रतिशत कार्यान्वयन भएको हो।
खर्च संरचना हेर्दा चालु शीर्षकमा (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत प्रगति देखिएको छ। वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च भने १२.१२ प्रतिशतमा सीमित रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा समग्र खर्च ३.३९ प्रतिशतले बढेको छ। आयोजनाको अपर्याप्त पूर्वतयारी, जग्गा प्राप्ति र वन क्षेत्र उपयोगमा जटिलता तथा भदौ २३–२४ का आन्दोलनबाट भएको क्षतिलाई पुँजीगत खर्च न्यून हुनुका कारणका रूपमा औंल्याइएको छ।
पूर्वतयारी नभएका साना तथा कम प्राथमिकताका आयोजनामा छुट्याइएको १ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ रोक्का गरिएकोमा आवश्यक ठहरिएका ४२ अर्ब २८ करोड रुपैयाँ भने फुकुवा गरिएको छ।
राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने लक्ष्यमध्ये पुससम्म ५ खर्ब ८१ अर्ब ४० करोड (८१.७५ प्रतिशत) संकलन भएको छ, जुन गत वर्षभन्दा २.४७ प्रतिशत बढी हो। आन्तरिक ऋण ४९.०८ प्रतिशत संकलन हुँदा ऋण साँवा–ब्याज भुक्तानी ४५.५३ प्रतिशत सम्पन्न भएको छ। विकास सहायता प्रतिवद्धता ६५ अर्ब ३९ करोड पुगे पनि वास्तविक प्राप्ति २१.२७ प्रतिशत मात्र रहेको छ। रक्षा क्षेत्रमा सबैभन्दा बढी र वातावरण क्षेत्रमा सबैभन्दा कम खर्च भएको उल्लेख गरिएको छ।