काठमाडौं । नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौमा भएको जेन–जी विद्रोहलाई संस्थागत बनाउने उद्देश्यसहित आफ्नो केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ। फ्रन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा रहँदै डिजिटल अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने र भ्रष्टाचार, कुशासन तथा डिजिटल निरंकुशताविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
हालै सम्पन्न केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले नयाँ केन्द्रीय विभागीय सदस्यहरू र सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको छ। यस कदममार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई एउटै अभियान अन्तर्गत ल्याई सहकार्य र समन्वयलाई सुदृढ बनाइने फ्रन्टले जनाएको छ।
फ्रन्टका जनसम्पर्क समितिको जिम्मेवारी रितु खड्काले सम्हाल्ने भएकी छन् भने अभियान समितिको नेतृत्व अमृता बनले गर्नेछिन्। त्यस्तै सूचना प्रविधि समितिको नेतृत्व संविधान प्रसाईंले पाएका छन्। प्रदेशस्तरमा प्रदेश नं. १ का लागि रोहन दंगाल, मधेश प्रदेशका लागि मो. नजरे आलम, बागमतीका सचिन चापागाईं, गण्डकीका साबिज मिया, लुम्बिनीका सौरभ न्यौपाने, कर्णालीकी बिनिता बोगटी र सुदूरपश्चिमका नवीन बिष्टलाई सम्पर्क व्यक्ति तोकिएको छ।
फ्रन्टले सबै जेन–जी, युवा, विद्यार्थी तथा इच्छुक नागरिकहरूलाई भ्रष्टाचार र कुशासनविरुद्धको अभियानमा जोडिन आग्रह गरेको छ। साथै, फ्रन्टसँग सम्बन्धित थप जानकारीका लागि सम्बन्धित प्रदेश सम्पर्क व्यक्ति वा केन्द्रीय प्रतिनिधिसँग सम्पर्क गर्न सकिने पनि जनाएको छ।
रक्षा बमको संयोजकत्वमा गठन भएको नेपाल जेन–जी फ्रन्ट १४ कात्तिकमा सार्वजनिक गरिएको हो। बमको नेतृत्वमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायतका सदस्यहरू फ्रन्टमा सामेल छन्। यस मोर्चाको मुख्य उद्देश्य २३–२४ भदौको जेन–जी विद्रोहका एजेन्डालाई संस्थागत गर्दै देशभरका विभिन्न जेन–जी समूहहरूलाई एकीकृत र सशक्त बनाउने रहेको छ।
November 09, 2025