काठमाडौँ, पुस ७ । यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार दशौँ कक्षाको परीक्षा तोकिएको समयावधिमा सम्पन्न हुनेछ।
तालिकाअनुसार चैत १९ गते अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुनेछ भने चैत २० गते अनिवार्य नेपालीको परीक्षा लिइनेछ। त्यसैगरी चैत २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। चैत २५ गते ऐच्छिक प्रथम खण्डअन्तर्गतका सबै विषय तथा २६ गते ऐच्छिक द्वितीय खण्डका विषयहरूको परीक्षा हुनेछ।
राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्राविधिक धारतर्फका बाँकी विषयहरूको परीक्षा भने चैत २७, २८ र २९ गते सञ्चालन गरिनेछ।
यस वर्ष प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएकाले एसइई परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो हुन लागेको हो। गत वर्ष भने एसइई चैत ७ गतेदेखि सुरु गरिएको थियो।