डोल्पामा हिमपातका कारण जनजीवन पूर्ण रूपमा प्रभावित

खबर नागरिक

डोल्पा, माघ १४ । डोल्पा जिल्लामा हिमपातका कारण जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। गएरातिदेखि निरन्तर परेको वर्षा र त्यसपछि सुरु भएको हिमपातका कारण जिल्लाका उच्च भू–भागहरू सेताम्मे बनाएको छ।

लामो समयपछि परेको यो वर्षको दोस्रो हिमपातले उपल्लो डोल्पाका शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिका, डोल्पोबुद्ध क्षेत्रसँगै तल्लो डोल्पाको जगदुल्ला, मुड्केचुला तथा मध्य डोल्पाको काइके गाउँपालिका, ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका उच्च स्थानहरूमा बाक्लो हिउँ जमेको छ। जिल्ला सदरमुकाम दुनैअन्तर्गत त्रिपुराकोट बजार क्षेत्रमा समेत हिमपात जारी रहँदा हिउँ जम्न थालेको छ।

लगातारको हिमपातका कारण जिल्लाको एकमात्र सञ्चालनमा रहेको जुफाल विमानस्थल बन्द भएको छ भने सडक मार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जुम्ला–डोल्पा सिमानास्थित मौरलेक क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ जमेसँगै सीमा नाका पनि बन्द गरिएको छ।

हिमपातसँगै चिसो अत्यधिक बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको भए पनि यही हिउँदे वर्षातले जौ, उवा, गहुँजस्ता हिउँदे बाली तथा बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसले कृषक र जडीबुटी व्यवसायीहरूमा आशा र उत्साह थपेको छ।

प्रकृतिको कठोरता र सम्भावनाको आशा सँगसँगै बोकेको यो हिमपातले डोल्पाको जनजीवनलाई फेरि एकपटक चुनौती र अवसरको दोबाटोमा उभ्याएको छ।


प्रतिक्रिया