सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ सेन्टर बाट सवारी चालक अनुमतिपत्र स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।
आज एक समारोहबीच काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर सञ्चारमन्त्री खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरेका हुन् ।
सञ्चारमन्त्री खरेलले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइ कार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताको लागि एक महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस कार्यले आमसेवाग्राहीले भोगेको सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातको रूपमा रहेको लाइसेन्स छपाई स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षा मात्र गर्दैन, छपाईका नाममा बाहिरिने अरबौंको विदेशी मुद्रासमेत बचत गर्नेछ ।”
सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए। उनले भने,वर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए ।
मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ। उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो ।
सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।