भैरहवा । पूर्व कर्मचारी कल्याण समूह, रुपन्देहीको १२औँ साधारण सभा तथा ६औँ अधिवेशन तिलोत्तमास्थित शंकरनगर वनबाटिकामा सम्पन्न भएको छ।
सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीहरूको हकहित, एकता र सामाजिक सुरक्षाका क्षेत्रमा क्रियाशील यस संस्थाको अधिवेशनले हरि प्रसाद अर्याललाई आगामी कार्यकालका लागि पुन: अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
मुख्य निर्वाचन अधिकृत रामबहादुर श्रेष्ठका अनुसार अधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जीवनाथ अर्याल र द्वितीय उपाध्यक्षमा अरुण कुमार कर्ण चयन भएका छन्। त्यसैगरी संस्थाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने महासचिव पदमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा लुञ्ज लाल शाक्य, सचिवमा भाग्यवान महर्जन र सह-कोषाध्यक्षमा सरस्वती गौतम निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा जमुना शर्मा रेग्मी, बिष्णु कुमारी थापा, नगेन्द्रराज कोईराला र ऋषिराम पाण्डे रहेका छन्।
अर्यालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले पूर्व कर्मचारीहरूबीचको आपसी भाइचारा, एकता र कल्याणकारी कार्यहरूलाई थप मजबुत बनाउँदै लैजाने संकल्प गरेको छ।
संस्थाका सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई विस्तृत छलफलसहित सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सभाले आगामी कार्यकालका लागि संस्थाको संगठनात्मक विस्तार र पूर्व कर्मचारीहरूको जीवनस्तर सहज बनाउने खालका रणनीतिक योजनाहरू समेत तय गरेको छ।
पुन: निर्वाचित भएपछि बोल्दै अध्यक्ष अर्यालले आफूलाई विश्वास गरेर पुनः जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गरे। उनले आगामी दिनमा पूर्व कर्मचारीहरूको स्वास्थ्य उपचार, हकहित र सामाजिक सुरक्षाका मुद्दाहरूलाई राज्यका निकायहरूसम्म पुर्याउन र ती समस्या समाधानका लागि अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए। यस संस्थाले सेवानिवृत्त जीवनलाई सक्रिय र सम्मानित बनाउन विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएकाे छ ।