काठमाडौं । नेकपा एमालेले सञ्चालन गर्न लागेको पालिकास्तरीय जनपरिचालन अभियानलाई प्रभावशाली बनाउन पार्टी महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुनेको सङ्ख्या र आवश्यकताअनुसार पार्टीको झण्डा, व्यानर तथा प्लेकार्ड तयार गर्न आग्रह गरेका छन्। साथै, जनपरिचालनका लागि बढी जनसङ्ख्या भएका क्षेत्र छनोट गर्न निर्देशन दिँदै उनले त्यस्ता स्थानमा जनसहभागिता बढाउन सहज हुने उल्लेख गरेका छन्।
महासचिव पोखरेलले जनप्रदर्शनपछि छोटो तर प्रभावकारी कोणसभा आयोजना गर्न पनि कार्यकर्तालाई सुझाव दिएका छन्। यस्तै, जनप्रदर्शनका तस्बिर र भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारण गर्न र ती सामग्रीहरू समाचार माध्यमहरूमा पठाउन समेत उनले आह्वान गरेका छन्।
गत असोज २९ देखि ३१ गतेसम्म सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले “प्रतिगामी षड्यन्त्र विरुद्ध देशव्यापी जनपरिचालन” गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार एमालेले कात्तिक २२ गते देशभरका सबै वडास्तरमा भेला सम्पन्न गरिसकेको छ।