परासी । नवलपरासीको गुठिप्रसानीस्थित बसैया नाका क्षेत्रमा गएराति हवाई फायर भएको छ । दसगजा नजिक क्षेत्रमा भारतबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले सिमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि २ राउण्ड हवाई फायर भएको हाे।
राती करिब १२ बजेको समयमा दसगजा नजिक पिलर नम्बर ५०२/७ भठ्ठा क्षेत्रमा मोटरसाइकलमा तस्करी गरिरहेकाे खुल्नमा आएको छ । ती व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरक्षाका लागि हवाई फायर गर्नु परेकाे सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए।
सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५/६ वटा मोटरसाइकलमा सुकेका माछा सिद्रा ल्याउँदै गरेका थिए। चेकजाँच गर्ने क्रममा सामान ल्याउने व्यक्तिहरूले हल्ला गरेपछि भारतीय क्षेत्रबाट थप २५/३० जना व्यक्ति आएर ड्युटीमा खटिएका प्रहरीमाथि हहुलहुज्जत गरी आक्रमण थालेपछि सुरक्षाका लागि २ राउण्ड हवाई फायर गरेको एसपी रायमाझीले बताए। हवाई फायरपछि उनीहरू भारततर्फ भागेका थिए।
मोटरसाइकलबाट भाग्नेक्रममा खसेका २ बोरा सिद्रा माछासमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। भारतको बिहार राज्यमा चुनाव रहेकाले सीमा नाकामा केही दिनदेखि भारतीय प्रहरीको उपस्थिति कम छ। नाका खुला जस्तै देखेपछि अहिले भारतबाट नेपालतर्फ माछालगायतका सामानको तस्करी गर्ने व्यक्तिहरू सल्बलाएको छन्।