काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा देशको मुद्रास्फीति उल्लेखनीय रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ताजा आर्थिक तथा वित्तीय समीक्षाअनुसार २०८२ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा झरेको छ। गत वर्षको सोही महिनामा यो ४.८२ प्रतिशत थियो।
असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक हुँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशतमा सीमित भएको रिपोर्टमा उल्लेख छ। गत वर्ष यिनै समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत थियो।
प्रथम त्रैमासको औसत मुद्रास्फीति पनि घट्दै १.६७ प्रतिशतमा आएको छ, जसले अघिल्लो वर्षको ४.२६ प्रतिशतको तुलनामा महँगीमा स्पष्ट सुधार देखाउँछ।
खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल (७.७५%), गैर–मदिराजन्य पेय पदार्थ (३.७१%) तथा माछा–मासु (३.१५%) को मूल्यसूचक बढेको छ। तर तरकारी (१५.६३%), मसला (७.८२%) र दाल–गेडागुडी (४.४१%) का उपसमूहमा उल्लेख्य गिरावट देखिएको छ।
गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा (१५.५१%), शिक्षा (७.६७%), कपडा तथा जुत्ता–चप्पल (६.२९%), सुर्तीजन्य पदार्थ तथा फर्निसिङ/घरायसी उपकरण (४.५५%) का उपसमूहमा मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।