२२ औँ सामूहिक खेलकुद महोत्सव: सिद्धार्थनगरको खेलमैदान व्यवस्थित नहुँदा ३ ठाउँमा प्रतियोगिता

खबर नागरिक

भैरहवा । ‘स्थिरता र शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ २२ औ सामूहिक खेलकुद महोत्सव हुदैछ । रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित निजी विद्यालयहरुको साझा संस्था सामुहिक विद्यालय परिवारको आयोजनामा अन्तर विद्यालय क्रिकेट, भलिबल र एथलेटिक्स प्रतियोगिता हुन लागेको हो । 

विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन  तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न विगतका वर्ष जस्तै प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष शमशाद इद्रिशीले बताए ।

शैक्षिक गतिविधीसँगै अतिरिक्त क्रियाकलापलाई बढावा दिदै परिवारमा रहेका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि समबन्ध जोड्नका लागि प्रतियोगिताले भुमिका खेल्दै आएको छ । शिक्षाको साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको अध्यक्ष इद्रिशीले बताए ।

२२ औ सामूहिक खेलकुद महोत्सव अन्तर्गत मंसिर १९ गतेदेखि २२ गते सम्म सिद्धार्थ रंगशालामा अन्तर विद्यालय सामुहिक क्रिकेट आयोजना हुदैछ, छात्रा तर्फ ८ र छात्र तर्फ १४ विद्यालय बीच सो प्रतियोगिता आयोजना हुदैछ । यस्तै मंसिर २३ र २४ गते नेपाल नालन्दा स्कुलमा अन्तरविद्यालय सामुहिक भलिबल कप हुदैछ । भलिबलमा छात्रा तर्फ ११ र छात्र तर्फ १३ विद्यालय बिच प्रतिस्पर्धा हुनेछ । यस्तै एथलेटिक्स तर्फ पक्लिहवा कृषि क्याम्पसमा मंसिर २७, २८ २९ गते सामुहिक खेल महोत्सव हुदैछ जस्मा परिवारका १८ वटै विद्यालय बीच प्रतिस्पर्धा हुने खेलकुद महोत्सबका संयोजक दिपक थापाले बताए ।

समूहमा आबद्ध १८ विद्यालयका एक हजार २ सय विद्याथीहरु वीचहुने खेल महोत्सव ३ तहमा विभाजन गरी प्रतियोगिता गराइने छ । कक्षा १देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी ३ तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरि २ विधामा प्रतियोगिता गराइने  संयोजक थापाले बताए । खेल महोत्सवमा ५० मिटरदेखि ८ सय मिटर सम्मका दौड, सय गुणे ४ रिले दौड, लङजम्प, सटपुट, भलिबल  र क्रिकेट खेलहरु हुने आयोजकले जानकारी दिइएका छन । 

महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा सर्वोउत्कृष्ट टिम घोषित गरी विजेता गराइनेछ । 

विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ४८÷४८ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ । 

व्यवस्थित खेलमैदान नहुदा ३ फरक ठाउमा प्रतियोगिता

सामुहिक विद्यालय परिवारले २२ औ खेलकुद महोत्सव सिद्धार्थनगरको ३ वटा मैदानमा गर्दैछ । सिद्धार्थनगर नगरपालिकामा मैदान भएपनि व्यवस्थित नभएकोले खेलकुद लगायतको ठूला कार्यक्रम अन्यत्र गर्नुपर्ने बाध्यता छ । खेल मैदानको अभावमा निश्चित ठाँउमा गराउनु पर्ने प्रतियोगिता फरक फरक ठाँउमा आयोजना गर्न लागेको हो । 

नगरपालिकाले मैदान बनाएपनि त्यो अहिले घासे मैदान भएको छ । नगरपलिकाले स्वयं वा अन्य निकायलाई संरक्षणको लागि दिए खेलहरु आयोजना गर्न सहज हुने संस्थाका सल्लाहकारहरुको भनाई छ । साझा खेल मैदानको रुपमा सरोकारवाला निकायले ध्यान दिई यथासिघ्र प्रयोगमा ल्याउन जरुरी छ । सिद्धार्थनगर नगरपालिकाको खेल मैदान व्यवस्थापनका लागि सामुहिक विद्यालय परिवार तयारे छ । खेलका लागि मैदान अति महत्वपूर्ण भएकोले अरुको फिल्डको आशमा बस्नु भन्दा आफ्नै व्यवस्थित भए ३ ठाउमा खेल आयोजना गर्नु पर्ने अवस्था नहुने परिवारको भनाई छ । 


प्रतिक्रिया