भैरहवा । पूर्वाधार, जनशक्ति र क्षेत्रफलका हिसाबले पूर्ण रूपमा सक्षम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुरक्षित मानिए पनि निरन्तर अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताको विषय बनेको छ । नियमित उडान र दिगो सञ्चालनका विषयमा सरोकारवालाबीच भएको छलफलमा सहभागीहरूले जसरी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा निजी क्षेत्र, विमानस्थल प्रशासन र सरकारी निकायबीच एकीकृत प्रयासको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । विमानस्थलले सन् २०२५ मा ३ सय ९६ उडानमार्फत १९ हजार ५ सय ९१ यात्रुलाई सेवा दिएको तथ्यांक प्रस्तुत गरिएको थियो । छिमेकी भारत र चीनमा संसारको आधा जनसंख्या भए पनि उनीहरूलाई नेपाल ल्याउन नसक्नु विडम्बना भएको सहभागीको भनाइ छ । रामायण, महाभारत र बुद्धिष्ट सर्किट जस्ता धार्मिक–पर्यटकीय सम्भावना हुँदाहुँदै त्यसको प्रभावकारी उपयोग हुन सकेको छैन ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले आर्थिक विकासका लागि निर्माण गरिएको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र मारमा परेको बताए । थाई एयरमार्फत बुद्ध सर्किटलाई लुम्बिनीबाट सुरु हुने प्याकेजका रूपमा विकास गर्न आग्रह गरिएको जानकारी दिँदै उनले सरोकारवाला सबै निकाय एकजुट हुनुपर्ने बताए ।
सहायक निर्देशक मुरारी पौडेलले पूर्वाधारमा कुनै कमी नरहेको उदाहरण प्रस्तुत गर्दै समस्या आफ्नै पर्याप्त जहाज नहुनु र कूटनीतिक सहजीकरणको अभाव भएको बताए । पर्यटनसँगै श्रमिक यात्रालाई पनि प्राथमिकतामा राखी ट्राभल, म्यानपावर, मेडिकल र एनओसीसम्बन्धी सेवा यहीबाट दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश का अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र, पालिका, होटल व्यवसायी र ट्राभल एजेन्सीबीच जिम्मेवारी बाँडेर बलियो समिति बनाएर सरकारसँग समन्वय गर्नुपर्ने बताए । सरोकारवालाले टूर प्याकेज, प्रचारप्रसार र आन्तरिक उडान कनेक्टिभिटी बढाउँदै दिगो समाधानतर्फ अघि बढ्नुपर्ने निष्कर्ष निकाले ।