भैरहवा। विद्यालय परिसर एक दिनका लागि सानो फुड बजारमा परिणत भयो। कतै तातो ममको बाफ उठिरहेको थियो, कतै चाउमिनको सुवास फैलिरहेको थियो। उत्साहले भरिएका विद्यार्थीहरू आफैं शेफ, व्यवस्थापक र विक्रेता बनेका थिए। नेपाल नालन्दा अवश्य माध्यमिक विद्यालयले आफ्नो तिसौँ वार्षिक उत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको फुड फेस्टिभलले सिकाइ र स्वादलाई एकै थलोमा जोडिदियो।
विद्यालयका प्राचार्य युवराज पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सीपमा दक्ष बनाउनु हो। “विद्यार्थीले आफैं पकाउने, योजना बनाउने र बिक्री गर्ने प्रक्रियाबाट मेहनत, जिम्मेवारी र सहकार्य सिक्छन्,” उनले बताए। गत वर्षदेखि सुरु गरिएको यस्तो अभ्यासले विशेषगरी माथिल्ला कक्षाका विद्यार्थीहरूलाई जीवनोपयोगी अनुभव प्रदान गरिरहेको उनको भनाइ छ।
फेस्टिभलमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले पकौडा, मम, चाउमिन, थुक्पा, बिरयानी, चिकेन चिल्ली, चिया र अन्य परिकार तयार गरी बिक्री गरेका थिए। प्रत्येक स्टलमा विद्यार्थीहरूको उत्साह र सिर्जनशीलता झल्किन्थ्यो।
कक्षा ९ का विद्यार्थी फरान रजक खानले कार्यक्रमले आफूलाई आत्मविश्वासी बनाएको बताए। “आफ्नै हातले बनाएको परिकार बेच्दा जिम्मेवारी र मेहनतको महत्व बुझियो,” उनले भने।
कार्यक्रममा सहभागी एक अभिभावकले विद्यालयको प्रयासको प्रशंसा गर्दै भने, “यस्ता गतिविधिले बच्चाहरूलाई जीवनका वास्तविक सीप सिकाउँछ। पढाइसँगै व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक छ।”
विद्यालयले फागुन ७ गते तिसौँ वार्षिक उत्सव मनाउने तयारी गरिरहेको जनाएको छ। फुड फेस्टिभलले त्यस उत्सवको माहोललाई झनै उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।