रूपन्देहीमा ६ अर्ब लागतको अत्याधुनिक पेट्रोलियम डिपो—निर्माण तयारी तीव्र

प्रेरणा नेपाली

रूपन्देही — लुम्बिनी प्रदेशमा दीर्घकालीन पेट्रोलियम आपूर्ति सुरक्षालाई लक्ष्य गर्दै नेपाल आयल निगमले रूपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक भण्डारण डिपो निर्माणको तयारी तीव्र पारेको छ। भलबारीस्थित पुरानो डिपो साँघुरो, घनाबस्तीबीच रहेको र वर्तमान इन्धन माग धान्न नसक्ने भएपछि करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण थालिएको निगमले जनाएको छ।

निगमका सहायक प्रबन्धक तेजराज तिमल्सिनाका अनुसार नयाँ डिपो सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको मासिक इन्धन खपत बराबर आपूर्ति भण्डारण गर्न सकिनेछ। अहिले भलबारी डिपोमा पेट्रोल ५१९ के.एल., डिजेल ३,०४० के.एल. र मट्टितेल २८० के.एल. मात्र भण्डारण क्षमता हुँदा दुई–तीन दिनको माग धान्न पनि चुनौती रहेको उनले बताए।

स्टोरेज क्यापासिटी इनह्यान्समेन्ट परियोजनाअन्तर्गत पहिलो वर्षको काम पूरा भइसकेको छ। साइट इन्जिनियर अंकित रिमालका अनुसार ग्याबियन जाली, रिटेनिङ वाल, ल्यान्डफिलिङलगायत आधारभूत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्। नदी नजिक पर्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि डिपो क्षेत्रलाई ग्याबियन जालीले मजबुत पारिएको छ। परियोजनाको विस्तृत प्रतिवेदन काठमाडौँ विश्वविद्यालयले तयार गरी निगमलाई बुझाइसकेको छ।

नयाँ डिपोमा ठूलो भण्डारण क्षमताका संरचना निर्माण गरिनेछन्। डिपोमा ४,५०० के.एल क्षमताका ३ डिजेल ट्याङ्क र २,१०० के.एल. क्षमताका २ वटा पेट्रोल ट्याङ्क, ७६० के.एल. क्षमताको एउटा पेट्रोल ट्याङ्क, ७० के.एल. क्षमताका ३ मट्टितेल ट्याङ्क, आगलागी नियन्त्रणका लागि २ पानी ट्याङ्क, प्रशासनिक तथा नियन्त्रण भवन, प्रयोगशाला, कर्मचारी–सुरक्षाकर्मी आवास र ट्रक पार्किङ निर्माण गरिने छ। इन्धन ढुवानी तथा वितरण सहज बनाउन आठ–आठ वटा आधुनिक लोडिङ–अनलोडिङ वे निर्माण गरिनेछ।

डिपो भित्र प्रशासनिक भवन, नियन्त्रण भवन, प्रयोगशाला, बिलिङ तथा स्टोर कक्ष, कर्मचारी र सुरक्षाकर्मीको छुट्टाछुट्टै आवास, आर्मी क्वार्टर, चालक विश्रामस्थल तथा प्रशस्त ट्रक पार्किङ क्षेत्र निर्माण गरिने निगमले जनाएको छ। सम्पूर्ण संरचनालाई सुरक्षित राख्न ग्रान्युलर जोनसहित आधुनिक प्रविधि अपनाइने भएको छ।

डिपो निर्माणका लागि आसपासका ९७ घरधुरीले लिखित सहमति जनाइसकेकाले परियोजना सहज रूपमा अघि बढेको निगमले जनाएको छ। 

निगमले असोजमा ठेक्का आह्वान गर्ने, मंसिरदेखि निर्माण कार्य शुरू गर्ने र तीन वर्षभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।

नयाँ अत्याधुनिक डिपो सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशमा पेट्रोलियम आपूर्ति सुरक्षा बलियो बन्ने, आकस्मिक संकट व्यवस्थापन सहज हुने र इन्धन वितरण प्रणाली अझ प्रभावकारी हुने निगमको अपेक्षा छ।

प्रतिक्रिया