निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड पालना गराैं,नेपालमा जोखिम न्यून

खबर नागरिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभएपनि जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। 

फलफूल तथा तरकारी राम्रोसँग पखालेर र पकाएर खाने, पानी उमालेर मात्र पिउने, जनावरको गोठ तथा फार्म सफा राख्ने, बेला बेलामा साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह छ। 

पूर्व तयारी स्वरुप देशभरका स्वास्थ्य संस्थालाई सचेत गराइएको मन्त्रालयले जनाएको छ। साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपाह भाइरसको परीक्षणका लागि एल्गोरिदम अन्तरिम तयार गरिएको मन्त्रालयले जनाएको छ। 

शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। जोखिम न्यूनीकरणका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन पनि सरकारको आग्रह छ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउँदै मन्त्रालयले सचेत र सहग बन्न सबैलाई आग्रह गरेको छ। 

छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

 विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको जानकारी गराए ।

उनले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरे प्रवक्ता बुढाथोकीले भने, “आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ । त्यसैले सबैले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन आवश्यक छ । जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ ।”

चिकित्सकका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको (याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्छ । साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै पनि मानिसमा सङ्क्रमण सर्न सक्ने डा बुढाथोकीले बताए ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शङ्कास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, ‘आइसोलेसन’, रिपोर्टिङ तथा सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया