राष्ट्रिय सभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो तीन बजेसम्म हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।
उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेकाले आज १७ पदका लागि चुनाव हुँदैछ । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । यसका लागि तयारी पूरा भएको छ ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुनेछ ।
राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिई आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।
भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।
रिक्तमध्ये लुम्बिनी प्रदेशबाट महिला एक, अपांगता भएकातर्फ एक र अन्य ए/क गरी ३ पदका लागि चुनाव हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेको तालमेल अनुसार कांग्रेसका दुई जना र एमालेबाट १ जना उम्मेदवार मैदानमा छन् । कांग्रेसले दाङका पुराना नेता बासुदेव घिमिरे जंगली लाई अपांग कोटाबाट उम्मेदवार बनाएको छ ।
गुल्मीका कांग्रेस नेता चन्द्रबहादुर केसीलाई खुलामा उम्मेदवार बनाइएको छ । एमालेले रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएको छ । उनलाई महिला कोटामा उम्मेदवार बनाइएको हो ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी पनि उम्मेदवारी दिएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट सर्जक परियार अपांग, बृहस्पति अधिकारी अन्य र दुर्गा भण्डारी महिला उम्मेदवार रहेका छन् ।
लुम्बिनी प्रदेशका १०९ पालिकाका २१८ र लुम्बिनी प्रदेशका ८७ प्रदेशसभा सदस्य गरी ३०५ जम्मा मतदाता रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न चार प्रदेशसभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेपछि हाल २९९ मतदाता कायम भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने मतदान सम्पन्न भएको २ घण्टाभित्र मतदानस्थलमा नै मतगणना गरी नतिजा घोषणा गर्ने तयारी रहेको मुख्य निर्वाचन पण्डितले बताए ।
लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।