भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का लागि रुपन्देहीबाट उम्मेदवारको नाम सिफारिस भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ वटा क्षेत्रबाट एकल नाम सिफारिस भएको छ भने अन्यमा आकाक्षीहरु धेरै भएकोले सोही अनुसार नाम सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकबाट नामहरू बाहिरीएका छन ।
नेकपा एमाले रुपन्देही क्षेत्र नं १ बाट केन्द्रीय सचिव तथा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित छविलाल विश्वकर्मासहित तीन जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट सचिव विश्वकर्मासहित दधिराम न्यौपाने र डा. कृष्ण न्यौपानेको नाम सिफारिस भएको हो ।
यस्तै नेकपा एमाले रुपन्देही क्षेत्र नं २ बाट केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल को एकल नाम उम्मेदवारीका लागि सिफारिस भएको छ । एमाले रुपन्देही–२ का क्षेत्रीय सह–संयोजक राजेन्द्र ढकालले आइतबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको जानकारी दिए । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेलले २०६४ सालदेखि निरन्तर यो क्षेत्रबाट निर्वाचन जित्दै आएका छन ।
यस्तै नेकपा एमाले रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारका लागि १० जनाको नाम प्रस्ताव गरिएको छ । बैठकले विश्वराज बराल ‘अनुप’, बासुदेव घिमिरे, राजेन्द्र प्रसाद पन्थी, हरि प्रसाद अधिकारी, हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता काफ्ले, लक्ष्मी के.सी. र नर बहादुर घर्तीको नाम उम्मेदवारको रुपमा आएको छ ।
एमाले रुपन्देही क्षेत्र नम्बर ४ बाट सुनिता ठठेर, अजय श्रीवास्तव, अन्जली यादव, सुनिल गिरी र हजरत अलि गायतको नाम चर्चामा आएपनि क्षेत्रिय कमिटीले नाम टुङग्याएको छैन ।
एमालेबाट रुपन्देही–५ मा खिमलाल भट्टराईको एकल नाम सिफारिस भएको छ । आइतबार पार्टीको क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको छ । भट्टराई पूर्व राष्ट्रिय सभा सदस्य समेत हुन । हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।