रुपन्देही निर्वाचनमा १५५ उम्मेदवारः २७ ले खोले बैङ्किङ खाता, १३ जनाले मात्रै बुझाए घोसणा पत्र

खबर नागरिक

भैरहवा । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीबाट विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले मात्रै बैङ्क कारोबारका लागि खाता खोलेको छन । 

जिल्लामा १ सय ५५ जना उम्मेदवार रहेको मध्ये ९८ जनाले बैंक खाता सञ्चालनका लागि सिफारिस लागेका छन भने ५७ जनाले अझै पनि बैङ्किङ कारोबारका लागि अनुमति नलिएका जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बैङ्किङ कारोबारका लागि सिफारिस लिनेमा अधिकांस राजनैतिक दलका उम्मेदवार रहेका छन भने केही स्वतन्त्र उम्मेदवार रहेका छन् । 

उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैङ्किङ खाता  अनिवार्य गरिको छ । चुनावमा राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्च पारदर्शी होस् भनेर पहिलो पटक यो अभ्यास थालेको छ । समयमा छुटै खाता नखोल्नेहरूलाई कस्तो कारबाही हुन्छ भन्ने आमचासो छ । तर आयोगले भने दण्डात्मकभन्दा नैतिकताको कसीमा पार्न खोज्ने प्रयास भएको बताएको छ । यसपालिको अभ्यासले आउँदा दिनमा सुधारको आधार तयार पार्ने आयोगको विश्वास छ । खर्चको पारदर्शिता होस भन्नका लागि २५ हजार भन्दा बढि रकम अनुदान वा सहयोग गर्दा सम्बन्धितको खातामा जम्मा गर्ने व्यवस्था छ । 

केहीले यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन आएका छन भने केहीले आफै सिफारिस विनै खाता खोलेको पाइएको छ । ‘सिफारिस विना खाता खोलिए आयोगले त्यसलाई मान्यता नदिने व्यवस्था छ, निर्वाचन प्रयोजनका लागि आवधिक समय मात्रै प्रयोग हुने यो खाताको कार्यालयको सिफारिसमा खुल्ने र उम्मेदवारले कार्यालयलाई जानकारी गराउनु पर्ने हुन्छ’ जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका लेखापाल केदार प्रसाद घिमिरेले भने । 

रुपन्देहीको क्षेत्र नम्बर १ बाट ८ जनाले खाता खोलेको र २१ जनाले सिफारिस लगेका छन, २ नम्बर क्षेत्रमा ३९ जना मध्ये ६ जनाले खाता खोलेका छन भने २४ जनाले सिफारिस लगेका छन, ३ नम्बर क्षेत्रमा ३६ जना मध्ये ६ जनाले खाता खोलेका छन भने १३ जनाले सिफारिस लगेका छन , ४ नम्बर क्षेत्रमा २२ जना मध्ये ४ जनाले बैक खाता खोलेका छन भने १९ जनाले सिफारिस लगेका छन र ५ नम्बर क्षेत्रमा २७ जना मध्ये २१ जनाले सिफारिस लगेको ३ जनाले खाता सञ्चालन गरेको जानकारी कार्यालयमा आएको लेखापाल घिमिरेले भने । 

निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरूले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैङ्किङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।

यस्तै जिल्लामा रहेका १५५ जना उम्मेदवार मध्ये १३ जनाले आफ्नो घोषणापत्र बुझाएका छन् । कार्यालयका अनुसार ६ जना स्वतन्त्र उम्मेदवार र ७ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो । पछि आयोगले दलको घोसणा पत्र केन्द्रमा बुझाएपछि जिल्लामा नपर्ने व्यवस्था गरेको थियो । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि जिल्लामा  ३ लाख ४६ हजार २ सय ३ जना पुरुष, ३ लाख ३६ हजार ३ सय ११ जना महिला र ९ जना अन्य गरी  ६ लाख ७२ हजार ५ सय २३ मतदाता छन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा २ सय ९  वटा मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय भएको छ ।


प्रतिक्रिया